अमेरिकामा नेपाली महावाणिज्यदूतावास र जनजाति महासंघले संयुक्त रुपमा मनाए प्रथम शहिद लखन थापा मगरको १३९ औं स्मृति दिवस |

139th-lakhan-thapa-magar-diwas-usa-002

न्युयोर्क, फागुन ४ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावास र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को संयुक्त आयोजनामा गत शुक्रवार (फेब्रुअरी १२) का दिन प्रथम शहीद लखन थापा मगरको १३९औं स्मृति दिवस सम्पन्न भयो ।

क्याप्टेन लखन थापा मगरले जहानियाँ राणा शासनविरुद्ध नेपाली जनता र नेपालको स्वतन्त्रताको लागि सैनिक विद्रोहमार्फत् आजभन्दा १३९ वर्षअगाडि लोकतन्त्रका लागि पहिलो आवाज उठाएका थिए । निरङ्कुश जहानियाँ राणा शासनको विरोधमा स्वतन्त्रताको लागि नेपालमा पहिलो आवाज उठाएकै हुनाले तत्कालिन श्री ३ जंगबहादुर राणाको ठाडो आदेशमा १३९ वर्षअघि वि.सं. १९३३ (सन् १८७६) फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोटमा क्याप्टेन लखन थापा मगरलाई झुन्ड्याएर मारिएको थियो।

नेपाल सरकारले गत असोज ३ गते २०७२ सालका दिन क्याप्टेन लखन थापा मगरलाई नेपालको प्रथम शहीद भनेर मान्यता दिएको हो ।

महावाणिज्यदूतावासको सभाकक्षमा सम्पूर्ण शहीदहरुप्रति मौन धारण र श्रद्धाञ्जली कार्यक्रमबाट सुरु भएको कार्यक्रमको सभापतिको आसनबाट बोल्दै कार्यवाहक महावाणिज्यदूत कृशु क्षेत्रीले यो ऐतिहासिक दिनलाई महावाणिज्यदूतवासमा आयोजना गर्न पाएकोमा गर्व गर्दै आगामी वर्षहरुमा यसलाई अझ व्यापक रुपमा नेपाली डायस्पोरामा मनाउनुपर्ने र सोको लागि आवश्यक सहयोग महावाणिज्यदूतावासको कार्यालयले गर्ने बताए ।

छोटो समयमा प्रथम शहीदको स्मृति दिवस आयोजना गर्नुपरेकोले भनेजस्तो व्यापक बनाउन नसकेको तथापि आदरणीय प्रथम शहीदप्रति सम्मान दर्शाउन पाएकोमा खुशी व्यक्त गर्दै उनले नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकालाई धन्यवाद प्रकट गरे ।

साथै, मगर संघ अमेरिकाले प्रथम शहीदको सन्दर्भमा नेपाल सरकारलाई बुझाएको ज्ञापनपत्र तत्काल नेपाल सरकारलाई पठाइने विश्वास दिलाए ।

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाका अध्यक्ष लुइसाङ वाइवा तामाङले क्याप्टेन लखन थापा मगरलाई नेपालको प्रथम शहीदको मान्यता प्रदान गरेकोमा नेपाल सरकारप्रति कृतज्ञता प्रकट गर्दै प्रथम शहीद लखन थापा मगर सिङ्गो नेपालीहरुको शहीद भएको र आगामी वर्षदेखि प्रथम शहीदको स्मृति दिवसलाई नेपाली डायस्पोराले शहीद स्मृति दिवसको रुपमा मनाउनुपर्ने बताए ।

139th-lakhan-thapa-magar-diwas-usa-003

उप-वाणिज्यदूत प्रविण भट्टराईले प्रथम शहीद लखन थापा मगर हाम्रा लागि आदरणीय रहिरहने तर शहीदको नाममा हुने विकृतिहरुप्रति नेपाली समाज सतर्क रहनुपर्ने बताए । आजसम्म असंख्य शहीदहरु घोषणा भएका र तीमध्ये पनि सार्थक रुपमा क-कसलाई शहीद मान्ने यावत् प्रश्न हाम्रोसामु रहेको उनले जिकिर गरे ।

प्रवासी नेपाली मंचका अध्यक्ष संजय थापाले आदरणीय शहीदहरुकै कारण आज हामीले स्वतन्त्रताको उपयोग गर्न पाइरहेको र त्यसकोलागि हामीले हाम्रा शहीदहरुलाई उच्च सम्मान गर्नु पर्ने भन्दै प्रथम शहीदको त्याग र साहसलाई हामीले कुनै पूर्वाग्रह नराखी नेपाली डायस्पोरामा भव्य रुपमा मनाउनु पर्ने बताए !

मगर संघ अमेरिकाका महासचिव मानबहादुर राना मगरले नेपाल मगर संघ तथा प्रवासमा रहेका आदिवासी जनजाति महासंघको २०५६ सालदेखिको निरन्तर आन्दोलनको बाबजुद क्याप्टेन लखन थापा मगरलाई नेपाल सरकारले प्रथम शहीदको मान्यता दिइएको स्मरण गर्दै नेपाल सरकारलाई धन्यवाद प्रकट गरे !

साथै मगर संघ अमेरिकाको तर्फबाट प्रथम शहीद लखन थापा मगरको त्याग र योगदानलाई सार्थक रुपमा सम्मान गरिनुपर्ने भन्दै महावाणिज्यदूतावासमार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाए ।

संचारकर्मी शैलेश श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा जहानियाँ राणा शासनको क्रुर कालखण्डमा शहीद लखन थापा मगरले नेपालको स्वतन्त्रताको लागि देखाएको साहसलाई विश्वका महान् स्वतन्त्रताप्रेमी नेता नेल्सन मण्डेलासँग तुलना गरे । उनले राज्यले ढिलै भए पनि प्रथम शहीदलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे ।

महिला नेत्री विष्णु माया परियारले प्रथम शहीद लखन थापा मगरको योगदानलाई नेपाल र नेपालीले कम आँकलन गर्न नमिल्ने र उनको सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो भने ।

कार्यक्रम महावाणिज्यदूतावासको कार्यबाहक महावाणिज्यदूत कृशु क्षेत्रीको सभापतित्वमा र महासंघका महासचिव प्रेम गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

समाचार श्रोत: Esamata.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *