गिरोहले अब महासंघमा फेरी घुसपैठ गर्ने दुश्साहस गर्ने छैन- लुईसाङ वाईवा तामाङ् (अन्तर्वार्ता)

Luisang waiba interview

नेपालको आदिवासी जनजाति आन्दोलनमा दुई दशक लामो अनुभव सँगालेका लुईसाङ वाइवा तामाङ नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको भर्खरै सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनबाट पुन: अध्यक्षमा निर्वाचित भएका छन् । ‘अन्तर्राष्ट्रिय मामिलामा’मा सिटी युनिभर्सिटी अफ न्युयोर्क, अमेरिकाबाट स्नातकोत्तर गरेका तामाङले त्रिभुवन विश्वविद्यालयमा अध्यापन पेशामा संग्लग्न थिए । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको अध्यक्ष समेत भइसकेका तामाङ उदयपुर जिल्लामा जन्मेका हुन् भने सन् २००९ मा संयुक्त राज्य अमेरिका आएका हुन् ! उनी नेपालको संविधानमा आदिवासी जनजाति, मधेसी, दलित र अन्य सीमान्तकृत वर्गको न्यायोचित सम्बोधन गराउन प्रवासबाट नैतिक दबाब दिन गठित ‘सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी इन् नेपाल’ नामक मोर्चाको संयोजकसमेत हुन् । आदिवासी जनजाति तथा सीमान्तकृत वर्गका मुद्दामा प्रस्ट अडान राख्नुहुने तामाङसँग प्रेसचौतारी डटकमले गरेको कुराकानीको सार:

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पुन: दोश्रो कार्यकालको लागि निर्वाचित हुनु भएकोमा बधाई छ यहाँलाई ।
यहाँलाई पनि धन्यवाद । अनि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु, महासंघका सदस्य संस्थाका प्रमुखहरु र शुभचिन्तकहरुलाई मेरो दोश्रो कार्यकालको लागि विश्वास गरिदिनु भएकोमा यहाँको पत्रिका मार्फत धन्यवाद भन्न चाहन्छु ।

महासंघमा एक कार्यकाल अध्यक्ष भइसकेकाले दोश्रो कार्यकालकोलागि प्रतिस्पर्धा गर्न मिल्दैन भन्ने बजार हल्ला छ नि, तपाईको धारणा के छ ।
मेरो धारणा के छ भन्ने भन्दा पनि महासंघको विधानले के भन्छ भनेर बुझ्नु राम्रो हुन्छ । महासंघको विधान (संशोधित २०१३) को धारा ३६ अनुसार कुनै पनि बहालवाला अध्यक्षले दोश्रो कार्यकालको लागि पुन:अध्यक्षको प्रत्याशी बन्नको लागि बहुमत सदस्य संस्थाहरुबाट सहमती ल्याएको खण्डमा निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्नेछ भनेर उल्लेख गरिएको छ | त्यसैको आधारमा दोश्रो कार्यकालको लागि म प्रत्याशी भएँ र साथीहरुको सहयोग र विश्वासमा निर्वाचित पनि भएँ । त्यसैले बजारी हल्लामा आफ्नो धारणा बनाउनु भन्दा महासंघको विधान पढेर बुझेर विषय बस्तुमा बहस गर्ने बानी हामी सबैले बनाउनु पर्छ ।

त्यसो भने महासंघको विधान नै नपढेकाहरुले यो बजारी हल्ला गरेका हुन् भन्ने हो त ।
यसबारेमा दुईवटा पाटाहरु छन् । पहिलो, महासंघभित्र चलखेल गर्न खोज्ने बाहिरी गिरोहहरुले यो हल्ला मच्चाएक हुन् । त्यो गिरोहलाई थाहा थियो विधानमा के छ भनेर तर उनीहरुले शब्दसँग खेल्ने दुस्प्रयास गरे र केही हदसम्म सफल पनि भए । दोश्रो, हाम्रा केही महाधिवेशन प्रतिनिधि साथीहरु महासंघको विधान नै नपल्टाई ती गिरोहहरुको बजारी हल्लामा फस्नु भयो । तर अन्त्यमा जब प्रतिनिधि साथीहरुको जिज्ञाशामा निर्वाचन आयोगले प्रष्ट्याईसकेपछि यथार्थ थाहा पाउनु भयो अनि ती बाहिरी गिरोह जसले महासंघलाई ध्वस्त गर्ने अभिष्ट पालेका थिए उनीहरु स्वयम् ध्वस्त भएँ ।

को हुन् ती बाहिरी गिरोह, जसले महासंघ माथि धावा बोल्यो ।
ती यस्ता गिरोह हुन् जसले महासंघ मात्र हैन कुनै पनि नेपाली संघसंस्थाको भलो चिताउदैनन् । हाम्रा आदिवासी जनजाति साथीहरुले समयमै त्यो गिरोहको पहिचान गरेर महासंघलाई ध्वस्त हुनबाट जोगाउनु भयो । यस अर्थमा म हाम्रा साथीहरुबाट खुशी छु र सम्मान गर्दछु कि वहारुले उचित समयमा उचित निर्णय गर्नसक्नु भयो । मलाई लाग्छ अब त्यो गिरोहले महासंघमा फेरि घुसपैठ गर्ने दुष्साहस गर्ने छैन ।

प्रवासमा त्यो पनि सामाजिक सेवाकोलागि दोश्रो कार्यकालकोलागि प्रतिस्पर्धा गर्दा पदलोलुपत्ता जस्तो देखिन्छ नि । किन निर्णय गर्नु भयो दोश्रो कार्यकालको नेतृत्व लिन ?
पक्कै पनि प्रवासको जीवन जटिल र कष्टकर छ । यधपी हामी सामाजिक अभियानमा संग्लग्न छौ आफ्ना ज्ञान,शिप र अनुभव बाढेर सामाजिक रुपान्तरणकोलागि केही योगदान पुर्याउन सकिन्छ कि भनेर । विशेष गरेर आदिवासी जनजाति आन्दोलनलाई वैचारिक रुपमा संस्थागत गर्न मेरा शुभचिन्तक साथीहरुको अनुरोधमा मैले दोश्रो कार्यकालकोलागि पहल गरेको थिए । शुरुमा मैले पनि नेतृत्व हस्तान्तरणको लागि सोच बनाएको थिएँ र त्यसै अनुसार साथीहरुसँग सल्लाह पनि गरें तर साथीहरुको अनुरोधलाई टार्न नसकेको कारण र पछिल्लो परिस्थतिमा महासंघको मान मर्दन गर्न एक खालको भूमिगत गिरोह नै लागी परेको देखेपछि मैले महासंघ ध्वस्त हुदै गरेको देख्न सक्ने कुरा रहेन । यसैकारण पनि मैले फेरि नेतृत्वको दाबी गर्नु पर्यो । यो निर्णय मेरो लागि नभएर महासंघको गरिमा र प्रतिष्ठासँग जोडिएकोले सोहि बमोजिम गर्नु परेको थियो । अब आफै भन्नुस् पद्लोलुपत्ता हो कि संस्थाप्रतिको आस्था र इमान्दारिता हो ।

निर्वाचन आयोगले निस्पक्षता कायम गर्न सक्नु भएन भन्ने आरोप छ नि ? तपाई के भन्नु हुन्छ ?
महासंघको स्थापनाकालदेखिका कानूनी सल्लाहकार र वरिष्ठ कानुनविद रमेश कुमार श्रेष्ठ, अर्का पत्रकार प्रदीप थापा मगर र कवयित्री मनु लोहोरुंग राई सहितको समाजका अगुवाहरु संग्लग्न निर्वाचन आयोगले निस्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न सफल हुनु भएको छ । महासंघको इतिहासमै पहिलो पटक महाधिवेशन प्रतिनिधिहरुले आफ्नो परिचय पत्र (State ID) देखाएर मत खसाल्नु भएको छ । हामीले निर्वाचन आयोगलाई हृदय देखि नै धन्यवाद दिनु पर्ने ठाउमा निस्पक्षताको प्रश्न तेर्साउनु भनेको हामीले आफ्नो स्वयम् अबमुल्यन गर्नु हो । आफ्ना कमी कमजोरीलाई ढाक्न अरुलाई दोष देखाउनु सामान्यतया नेपालीहरुको राष्ट्रिय चरित्र जस्तो नै भइसकेको छ । यसरी हामी अगाडी बढ्न सक्दैनौ । आफ्ना कमजोरीहरुबाट भोलिको लागि सिकौ । आफ्ना कमजोरी लुकाएर बाटो बिराउने काम कसैबाट हुनु हुदैन ।बाटो बिराएकाहरु सम्पूर्णले आत्मालोचना गर्दै महासंघलाई एक्ताबद्दा र शशक्त बनाउने अभियानमा हातेमालो गर्न अनुरोध गर्दछु ।

भनिन्छ, महासंघले सधै विरोधको राजनीति मात्र गर्यो भनेर ? के यो सत्य हो ।
यो तपाईको हेर्ने दृष्टिकोणमा भर पर्दछ । नेपाली डायसपारामा महासंघलाई सामान्यतया गलत विश्लेषण गरिएको मैले पाएको छु । हामीलाई भन्ने गरिन्छ कि हामी जातिय मुद्धा उठाएर साम्प्रदायिक राजनीति गर्दैछौ जुन सोर्है आना गलत छ । हामीलाई कहाँनेर बुझिएन भने हामी नागरिक अधिकारको आन्दोलनमा छौ भनेर । हामी मानव अधिकारको कुरा गर्दैछौ । आदिवासी जनजाति तथा अन्य सिमान्तकृत समुदायको अधिकार पक्षपोषणकोलागि हाम्रो अभियान हो । हाम्रो आन्दोलन समानताको लागि हो । के सामाजिक समानताको लागि अभियान छेड्नु बिरोधको राजनीति हो रु सामाजिक समानताको लागि वकालत गर्नु, सरकारलाई सचेत गराउनु र जनतामा चेतना जगाउनु साम्प्रदायिक परिभाषा भित्र पर्छ रु एउटा कुरा सत्य हो कि महासंघ कुनै राजनीतिक दलसँग आबद्द छैन त्यसैले हामी कसैको जयजयकार गर्न सक्दैनौ । हामी आदिवासी जनजातिको अधिकारको कुरा गर्छौ त्यसैले प्रत्येक सरकारलाई खबरदारी गर्छौ । सरकारलाई सचेत गराउनु या खबरदारी गराउनुलाई नै विरोधको राजनीति भन्नु हुन्छ भने हामी त्यो मान्न सक्दैनौ । न्यु योर्कमा केन्द्रित एउटा संचार गृहले महासंघको एक दशक विरोधको राजनीतिमै गयो भनेर एउटा भ्रमपूर्ण मनोगत आलेख भर्खरै छापेको भेटें ! यस्ता भ्रमबाट मुक्त रहन सबैमा आग्रह गर्दछु !

अबको दुई बर्षमा महासंघको के कस्तो कार्यक्रम आउने छ ?
मैले भन्ने गरेको छु कि मेरो दोश्रो कार्यकाल आदिवासी जनजाति आन्दोलनलाई वैचारिक रुपमा संस्थागत गर्नको लागि हो । प्रमुख रुपमा अबको दुई वर्ष यसैमा खर्चिने छु । साथै, महासंघको संगठन सुद्रीढिकरण र संगठन विस्तार पनि प्राथमिकतामा रहनेछ ।आप्रवासीहरुको सरोकारका विषयबस्तुलाई समेत महासंघले यस पटक देखि स्थानीय कार्यक्रमको रुपमा ल्याउने छ ।

प्रस्तुति: एलुंग

श्रोत: Presschautari.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *