राष्ट्रसंघ अघि नेपालविरूद्ध प्रदर्शन – Drishtinews.com

fipna-news-at-dristinews-com-001
न्युयोर्क, सेप्टेम्बर २५:

नेपालमा जारी संविधानले आदिवासी, जनजाति तथा तराई–मधेसको भावनाको सम्वोधन नगरेको भन्दै रुष्ट रहेका अमेरिकास्थित आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाहरु त्यसको विरोध गर्दै आएका छन् । यही क्रममा तराई–मधेसमा सरकारी दमन भएको र त्यो मानवताविराधी अपराध भएको ठहर गर्दै उनीहरुले शुक्रबार अपरान्ह संयुक्त राष्ट्र संघ भवनअगाडि प्रदर्शन गरे । राष्ट्र संघलाई नेपालमा भैरहेको सरकारी दमन रोक्नका लागि आवश्यक पहल गर्न ध्यानाकर्षण गर्नका लागि विरोध प्रदर्शन गरेको उनीहरुको भनाइ छ । आयोजकहरुले राष्ट्र संघको ७० औं महासभामा भाग लिन आएका नेपाल सरकारका मन्त्रीहरुलाई आफ्नो विरोध छ भन्ने देखाउनका लागि समेत विरोध प्रदर्शन गरेको बताए । नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा विभिन्न ६ संस्थाको सहभागिता रहेकोे विरोध प्रदर्शनको नेतृत्व महासंघका अध्यक्ष लुइसाङ वाइवाले गरेका थिए । महासंघको प्रदर्शनलाई लिएर तीनखाले विचारहरु अमेरिकामा छन् । एकथरि समर्थन गर्छन् भने अर्को थरि विरोध । तर, मध्यमार्गी धारमा रहेका तेस्रो थरि विचार राख्नेहरु भने तराई–मधेसमा दुबै पक्षबाट ज्यादती भएको धारणा राख्छन् । उनीहरुको भनाइ छ, त्यहाँ सरकारी दमन मात्र भएको छैन, आन्दोलनका नाममा सुरक्षाकर्मीहरुलाई जिउँदै जलाउने काम पनि भएको छ ।

समाचार श्रोत: Drishtinews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *