WhitehimalTV Report – आदिवासी जनजाति अमेरिकाको प्रवासी बहस

ज्योतिकुमार श्रेष्ठ
न्युयोर्क, अगष्ट ९ आईतवार- २१ औं विश्व आदिवासी जनजाति दिवशको उपलक्ष्यमा नेपाली आदिवासी जनजाति महासंघ अमेरिका ( FIPNA ) ले न्यूयोर्कमा एक कार्यक्रम गरी शुभकामना आदान प्रदान गर्यो ।

सो कार्यक्रममा नेपालमा बन्न लागेको संबिधानको सन्दर्भमा “संघिय गणतन्त्र नेपालमा धर्म निरपेक्षता कि धर्म सापेक्षता” बिषयक प्रवासी बहस संचालन गरिएको थियो ।

कार्यक्रमको शुरुमा संचारकर्मी एवं अधिकारकर्मी शैलेश श्रेष्ठले धर्म र राज्यको सम्बन्ध अलग हुनुपर्ने बताउदै राज्य कुनै धर्मको पक्ष वा बिपक्षमा हुनु हुदैन भन्नु भयो । उहांले धर्म राजनीति संग टाढा राखिनु पर्दछ र राज्यको आस्था धर्मसंग होईन, जनतासंग हुनुपर्दछ भन्नुभयो । चार पृष्ठ लामो बिचार पत्र प्रस्तुत गर्नुहुदै उहांले बीपी कोईराला देखि पुष्पलाल र मदन भण्डारी पनि धर्म निरपेक्ष राज्यको पक्षमा रहनु भएको र अहिले नेपाल धर्म निरपेक्ष राज्य हुनु उचित हुने प्रष्ट पार्नु भयो ।

अतिथि वक्ता त्रिबिबि प्राध्यापक लोकसिंह रानाले बिध्यमान राज्य सरकारले हिन्दु र अरु धर्मावलम्बीहरुलाई काखा र पाखा गर्ने गरेको प्रति असन्तुष्टी व्यक्त गर्नु हुदै गाई पुजा गर्ने र गाईको मासु खाने समुदाय रहेको नेपालमा बरु राष्ट्रीय जनावर गाईको सट्टा अरु कुनै राखिदिए फरक धर्मावलम्बीहरु बीच आपसी सदभाव खलल हुनबाट जोगिने बिचार व्यक्त गर्नु भयो । उहांले भाषिक समानताको लागि नेपाली भाषा लगायत नेपाल भित्र बोलिने कम्तिमा अरु दश भाषा राखिनुपर्ने बताउनु भयो ।

तामाङ्ग समाज अमेरिकाका बि. आर. लामाले गाई काट्ने कुरा प्रति असहमति प्रकट गर्दै कुनै पनि जनावर काटमार गरिनु अनुचित हुने बताउनु भयो ।

समाजसेवी तथा ‘कारणका लागि महिला’ का अध्यक्ष डा. बिष्णुमाया परियारले धर्मको कारण कसैले पनि आपसी सदभाव खल्बल्याउन नहुने धारणा राख्दै नेपालमा भएको दलित आन्दोलनमा आदिवासी जनजाति महासंघ अमेरिका लगायत जनजाति संघसंस्थाहरुले समर्थन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रमका आयोजक संस्था आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुईसाड्० वाईबाले नेपाल धर्म निरपेक्ष राज्य हुनुपर्ने अभिमत राख्नु हुदै संबिधानमा अंग्रेजी भाषालाई पनि मान्यता दिईनुपर्ने तथा राष्ट्रीय जनावर गाईको सट्टा अरु नै राखिनु पर्ने बिचार व्यक्त गर्नु भयो ।

प्रश्नोत्तर कार्यक्रममा शेर्पा किदूकका जाड्०बु शेर्पाले हिन्दूहरुको बाहुल्य रहेको नेपालमा उनिहरुलाई चोट पर्ने गरी गाई काट्न पाउनु पर्छ भन्नु उचित नहुने बताउदै राष्ट्रीय जनावर गाईको सट्टा अरु नै राख्नु पर्ने बिचार राख्नु भयो ।

कार्यक्रम महासंघका प्रथम उपाध्यक्ष मणि बांग्देलले संचालन गर्नु भएको थियो ।

बहस कार्यक्रम शान्तिपूर्ण एवं सान्दर्भिक भएको भएता पनि सबै समुदायको उपस्थिति र बैचारिक स्वस्थ बहस हुन सकेको भए ‘सुनमा सुगन्ध’ हुने थियो । अर्थात अझ बढी फलदायी र सान्दर्भिक हुने थियो ।

विश्व आदिवासी जनजाति दिवशको उपलक्ष्यमा सबै नेपालीमा आपसी सदभावको शुभकामना । बन्न लागेको संबिधानमा सबै आदिवासी जनजातिहरुको हक अधिकार सुनिश्चित हुन सकोस् ।
white-himal-tv-news-001
white-himal-tv-news-002
News Source: White Himal Television

Leave a Reply

Your email address will not be published. Required fields are marked *