धर्मनिरपेक्षता मानवताको धर्म हो |

धर्मनिरपेक्षता मानवताको धर्म हो
– मुनिन्द्र नेम्वाङ 
munindra-nemwang

नेपालको महान जनआन्दोलन-२ को महत्वपूर्ण उपलब्धीहरुमध्ये धर्मनिरपेक्षता पनि एक हो । तर आन्दोलनका ज्वालाहरु राम्ररी निभ्न नपाउँदै यसको विरुद्धमा पहिले पनि केही धार्मिक अन्धभक्त यथास्थितिवादी तथा घोर दक्षिणवादी समूहहरुले सर्प झै आ-आफ्ना विषाक्त फणाहरु नउठाएका होइनन् । त्यसपछि नेपालको अन्तरिम संविधान भाग-३ को चौथो संशोधनद्वारा नेपाल एक बहुजातीय बहुभाषिक अभिभाज्य सार्वभौम धर्मनिरपेक्ष समावेशी संघीय प्रजातान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा भइसकेको हुँदा एक प्रकारले यस मुद्दाको निप्टारा भइसकेको हामीले सम्झेका थियौं ।

तर हाल आएर नेपाललाई हिन्दु राष्ट्र बनाउनको निम्ति भारतको मुम्बइमा केही दिन अगाडि भएको विश्व हिन्दु परिषद्को सम्मेलनमा नेपाल र भारतका केही हिन्दु कट्टरवादी नेताहरुले धर्मनिरपेक्षताको विरोध गर्दै जुन अठोट अभिव्यक्ति र पहल गरेका छन् त्यस किसिमको अभियान र चलखेल बढ्दै गयो भने हाम्रो नेपालमा पनि भविष्यमा केही बिकराल धार्मिक साम्प्रदायिक कलहहरु उत्पन्न हुँदैनन् भन्न सकिँदैन ।

लगभग एक डेढ शताब्दि आगडि नै अंग्रेज लेखक जर्ज ज्याकोव होलिओइकेले सर्वप्रथम धर्मनिरपेक्ष भन्ने शब्द प्रयोग गरेका थिए जसको लाक्षणिक अर्थ हो धर्म र राजनीति भनेको फरक-फरक विषयवस्तु हुन् । यसलाई पुष्टि गरेर जनवरी १ सन् १८०२ मा नै अमेरिकाका तेस्रो राष्ट्रपति थोमस जेफरसनले पिथक्करणको पर्खाल भन्ने संज्ञा दिएका थिए जुन वाक्यांश त्यस जमानामा अत्यन्त चर्चामा आएको थियो । एवं रुपले सन् १९७१ मा संयुक्त राज्य अमेरिका पनि संविधानको प्रथम संशोधनद्वारा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको थियो । यसरी नै पश्चिमी मुलुकहरुमा मानिसहरुले भगवानलाई लगभग एक डेढ सय वर्ष अगाडिनै राजनीतिबाट ‘अवकाश’ दिइसकेको बुझिन्छ ।

पूर्वको हिन्दु धर्ममा पनि विवेक सलाथियाले भने झै धर्मनिरपेक्षताको अर्थ कुनै पनि देश राज्यको रुपमा धर्मदेखि अलग छ । हिन्दु धर्मको यजुर्वेद ऋग्वेद तथा अथर्ववेदका अनुसार ‘सर्व धर्म सम्भव’ भने झै हिन्दु धर्मले अन्य सबै धर्मलाई शदियौंदेखि सहिष्णुताको दृष्टिकोणले व्यवहार गर्दै आएको छ । यही कुरा म्याक्स वेबर डोनाल स्मिथ तथा अमत्र्य सेन नोबेल प्राइज विजेता आदि विद्वानहरुले पनि पुष्टी गरेका छन् । त्यसैले धर्मसहिष्णुताको कारणले गर्दा नै चार्वकहरु जैन बौद्ध किँरात आदि धर्महरुले वेदलाई नमान्दा पनि शदियौंदेखि सनातन हिन्दु धर्मसँग एउटा धार्मिक सहिष्णुता र सह-अस्तित्वमा आजतक बाँचिरहेको देखिन्छ । जस्तैः बौद्ध तथा किँरात धर्मावम्बीहरु हिन्दुहरुको मन्दिरमा गएर पुजाआजा गर्नु तथा हिन्दुहरुले बौद्ध तथागत किँरातेश्वर शिवलाई पुजाआजा गर्नु धर्मसहिष्णुताको एउटा ज्वलन्त उदाहरण हो । यसबाट के बुझिन्छ भने धर्मनिरपेक्षता भन्ने शब्द सर्वप्रथम होलिओइकेले प्रयोग गरे पनि हिन्दु धर्ममा चाँहि यस किसिमको भावनाले चार हजार वर्ष अगाडि वैदिक तथा औपनिषद् कालमा नै गहिरोसँग जरा गाडीसकेको थियो ।

कतिपय मुस्लिम देशहरुले पनि धर्मनिरपेक्षता अवलम्बन गरेका छन् जस्तैः टर्की बोस्निया अजरबैजान काजकास्थान आदि । भनिन्छ बौद्ध सम्राट आशोक मुगल सम्राट बाबर तथा अकबरको अधिपत्य कालमा भारतमा पनि एक प्रकारको धर्मनिरपेक्षताको भावना जन्मिसकेको थियो । यसैले हामीले राम्ररी नियालेर हेर् यौं भने धर्मनिरपेक्षता भनेको धर्मको विरोध होइन तर धर्मदेखि स्वतन्त्र हुनु हो । आज विश्वमा लगभग १९२ राष्ट्रहरुमध्ये झन्डै ३२ वटा धर्मसापेक्ष राष्ट्रहरुबाहेक अन्य सबै राष्ट्रहरुले कि त धार्मिक स्वतन्त्रता या धर्मनिरपेक्षता नै अपनाएको देखिन्छ । त्यसमध्ये पनि जुन-जुन देशहरु बहुजातीय बहुभाषिक बहुधार्मिक र बहुसाँस्कृतिक छन् ती-ती देशहरुले अल्पसंख्यक जातिहरुको संरक्षण लोकतन्त्र र उत्तरोतर विकास निर्माणको लागि धर्मनिरपेक्षता अपनाइरहेका छन् ।

नेपाल पनि एक बहुजातीय बहुभाषिक बहुधार्मिक र बहुसाँस्कृतिक देश भएकाले यहाँ पनि अल्पसंख्यक जातिहरुको धर्म भाषा तथा सँस्कृतिको संरक्षण गर्न अति जरुरी छ । यदि अल्पसंख्यक जातिहरुको संरक्षण भएन भने सही अर्थमा लोकतन्त्र सधै अधुरो हुन्छ । यसबाहेक पृथ्वीनारायण शाहको पालादेखि २४० वर्षसम्म निरंकुश शाहकालिन अवधिमा नेपालमा लोकतन्त्र र धार्मिक स्वतन्त्रता थिएन । यतिमात्र होइन उक्त अवधिकालमा अन्य स-साना अल्पसंख्यक जातिहरुको धर्म भाषा संस्कृति पनि नष्टप्रायः हुन लागेको कुरा कसैबाट छिपेको छैन ।

आजको एउटा कटु यथार्थता चाँही के हो भने कुनै पनि जातिको धर्म भाषा संस्कृति लोप भयो भने कालान्तरमा गएर त्यो जातिको अस्तित्व नै मटियामेट हुन्छ । यो कुरा विश्वको इतिहासले नै प्रष्टरुपले देखाएको छ । त्यसैले यी सबै कुराहरुको ह्रदयगंमन गरी महान जनआन्दोलन-२ को भावना अनुरुप सम्वत् २०६२ जेठ ४ गतेमा संसदको अत्याधिक बहुमतद्वारा दु्रततर विकास गर्न तथा अल्पसंख्यक जनजातिहरु र उनीहरुको धर्म भाषा संस्कृति संरक्षण गरी स्वतन्त्रता समानता लोकतन्त्र सामाजिक न्याय र सद्भावना कायम गर्न नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको हो ।

तर हाल आएर उक्त यथार्थहरुको मनन् नै नगरी केवल सोह्रौं र सत्रौं शताब्दिको रुढिग्रस्त र पुरानो मानसिकता लिएर केही हिन्दु कट्टरवादी व्यक्तिहरु तथा संस्थाहरुले हाम्रो देशमा केवल एकहोरो रुपमा धर्मनिरपेक्षताको खुलेआम विरोध गर्नु चाँहि किमार्थ शोभनीय देखिएन । सायद यसैले होला आज देशमा धर्मनिरपेक्षताको सही कार्यान्वयन भएन भनेर चारैतिरबाट आवाज आउँदैछ ।

यसबाहेक धेरैले शंका-उपशंका गर्न थालेका छन् के कतै धर्मलाई खेलवाड गरी निरंकुश राजतन्त्रलाई पुनस्र्थापना गर्ने षडयन्त्र त भइरहेको छैन यहाँ के हिन्दु राष्ट्र घोषणा गरी अन्य धर्मावलम्वीहरुका मानिसहरुलाई राष्ट्रपति वा उपराष्ट्रपति बन्नै नपाउने षडयन्त्र त होइन यो किनभने हिन्दु राष्ट्रको सर्वोच्च पदमा आसिन हुनलाई हिन्दु नै हुनुपर्छ भन्ने अहिलेसम्मको परम्परा रहिआएको कुरा कसैले बिसे्रको छैन । यदि त्यसो हो भने कैयौं सहिदहरुको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्तित्रक गणतन्त्र धर्मनिरपेक्षता स्वतन्त्रता समानता तथा मानव अधिकारलगायत अन्य धर्मावलम्वीहरुमाथि पनि ठूलै कुठाराघात हुन लागेको नेपाली जनाताले अनुभूति गर्नेछन् ।

आजको व्यापक परिप्रेक्षमा सोच्दा आधुनिकता तर्फ उन्मूख हुनु नै धर्मनिरपेक्षतावाद हो । धर्मनिरपेक्षता नेपालमा पनि निरपेक्षता मानवतावादको रुपमा आएको छ । जसले आजको यो कलहयुक्त संसारमा विश्व शान्तिको लागि एउटा महत्वपूर्ण सघाउसमेत पुर्‍याउन सक्छ । अझ व्यापक अर्थमा सोच्यौं भने धर्मनिरपेक्षता भनेको धर्म मान्नेहरुको लागि पनि हो र नमान्नेहरुको लागि पनि । यसले दुई वटै समुहहरुलाई संरक्षण गर्छ । यसको साथै धर्मनिरपेक्षताले सबै धर्मावलम्वीहरुको समान नागरिक अधिकारको लागि मात्र अडान लिँदैन तर सबै जातजाति वर्ग तथा लिंग अनुक्रमणको उन्मूलनसमेतको लागि बलियो अडान लिन्छ । सायद त्यसैले होला स्वामी दयानन्द विवेकानन्द अरविन्द घोष थोमास जेफेस्रन रबर्ट गि्रन रर्बट इङगर सोल फथिल्ला गुल्लिन मौलाना रुमी महात्मा गान्धी जवाहरलाल नेहरु आदि जस्ता महान व्यक्तिहरुले पनि धर्मनिरपेक्षतालाई विश्वव्यापीकरण गर्ने दिशामा महत्वपूर्ण योगदान दिएका छन् ।

नेपालमा पनि शीध्रतिशीध्र विकास लोकतान्त्रिक गणतन्त्र आमसमावेशीकरण धार्मिक बहुलवाद तथा शान्तिपूर्ण सह-अस्तित्वको लागि धर्मनिरपेक्षता अंगालिएको हो । यो एउटा हाम्रो सभ्यता र संस्कृतिको परिचायक हो । यदि हामीले विश्वको इतिहास हेर्‍यौं भने अधिकांश देशहरुमा थुप्रै धार्मिक युद्ध कलह र भुठभेड भएको देखिन्छ । तर नेपालमा अहिलेसम्म कहिल्यै यस्तो भएको छैन । यो एउटा सबै नेपालीले गर्व गर्ने कुरा हो । त्यसैले हामी सबै के हिन्दु के बौद्ध के मुस्लिम के इसाइ के किराँत के सिख आदि धर्मावलम्वीहरुले स्वतन्त्रतापूर्वक आ-आफ्नो धर्म मानेर एउटा शान्त सम्यक धर्म सहिष्णुता र सह-अस्तित्वको वातावरणमा बाँचौं ।

हामी यसबेला दुई ठुला धर्मनिरपेक्ष राष्ट्रहरु चीन र भारतको बीचमा छौं । आजको विश्व परिस्थितिको सन्दर्भमा एउटा समन्वय र सामन्जस्यको रुपमा बाँच्नु पर्ने बेलामा मात्र एकल हिन्दु राष्ट्रको माग गरि धर्मनिरपेक्षता व्यक्तिगत स्वतन्त्रता र धार्मिक स्वतन्त्रतामाथि आँच पुर्‍याइ पुनः शान्त पोखरीमा ढुंगा हाल्ने काम नगरौं । हामी सबैलाई अवगतै छ कि उल्लेखित तथ्यहरुको आधारमा नेपाल जस्तो बहुजातीय बहुभाषिक बहुधार्मिक र बहुसाँस्कृतिक देशलाई धर्मसापेक्ष राष्ट्र घोषणा गर्न कदापी सम्भव हुँदैन ।

लेखक नेम्वाङ नेपाली कांग्रेसका युवा नेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *