विपन्न थारु उत्थानविना कम्लरी मुक्ति कठिन |

विपन्न थारु उत्थानविना कम्लरी मुक्ति कठिन
– कमल नेपाली
 

kamal-nepali

२०४५ सालको माघीमा म ८ वर्षको हुँदा मेरो दरभाउ तय भयो म कम्लरी बनाइएँ। बिहान निद्रै नपुगी मालिक्नी ओछ्यानमै जगल्टा उखेल्न आइपुग्थिन्।

बिहान ४ बजेदेखि गोबर सोहोर्नेबाट शुरु भएको दैनिकी राति ११ बजेतिर भाँडा माझेर कुचो लाएपछि मात्र सकिन्थ्यो। आफूभन्दा पनि ठूलो घैंटोमा पानी बोक्नुपथ्र्यो। एक दिन त असन्तुलित भएर घैंटो खस्यो र फुट्यो। मालिक्नीले तथानाम गाली गर्दै घैंटाका टुक्रा मेरो टाउकामा गाडिदिइन्। टाउकोबाट रगतको धारो छुट्यो। यातनाले म कतिपटक त बेहोस हुन्थें।

कम्लरीका रुपमा १८ वर्षसम्म जमिनदारको सेवा गरेकी शान्ता चौधरीको आत्मकथाको अंश हो यो। माघी यस्तो पर्व हो जुन गरिब चारुहरुका लागि दशा बनेर देखा पर्दछ॥ त्यस दिन कम्लरीका लागि बालिकाहरुको मोलमोलाइ हुन्छ। जमिनदारको घरमा दास भएर जानुपर्दछ। दशैंका बेला खसीबोकाझैं बेचिनुपर्दछ।

विश्वबाटै दासप्रथा उन्मूलन भएको भनिएको झन्डै डेढ शताब्दी बितिसकेको छ तर यसको काँचो वायु भने विभिन्न रुप र रंगमा विश्वभर नै र हाम्रै वरिपरि पनि घुमिरहेको छ। नेपालमा हलिया कमैया बालीघरे र कम्लरीजस्ता श्रमचोर प्रथाहरु दासप्रथाकै अवशेषका रुपमा अद्यावधि यो वा त्यो रुपमा कायम छन्। सन् १८६३ जनवरी १ अघिसम्म अमेरिकामा काला जातिलाई गोराहरुले भेँडाबाख्रासरह सार्वजनिक स्थलमा मोलतोल र किनबेच गर्दथे। दासकालीन तिबेतमा दासहरुलाई बोल्न सक्ने जनावर भनिन्थ्यो।

सरकारले ०५७ सालमै यो प्रथाको अन्त्य घोषणा गरेको हो भने सर्वोच्च अदालतले ऐन बनाएरै कडाइका साथ लागु गर्न सरकारलाई आदेश दिएको पनि हो। तर दांगको पछिल्लो समाचारले कम्लरीप्रथा विगत बन्न नसकेको अर्थात् ज्यूँका त्यूँ रहेको देखाएको छ। यही साउन १२ गते मुक्त जिल्लामै कम्लरी थपिएको समाचार आयो। ०६५ माघ १ गते कम्लरी मुक्त घोषणा गरिएको दांग जिल्लामा डेढ वर्षमै ५९ जना कम्लरी थपिएछन्। त्यहाँ ५२० कम्लरी रहेकामा ४३० जनाको उद्धार गरिएको थियो भने ९० जना बाँकी थिए। अहिले ५९ जना थपिएर १४९ पुगेका छन्। दांगमा मात्र होइन कैलालीलगायत पश्चिम नेपाल नै मध्ययुगीन यस चलनबाट प्रताडित छन्।

दांगमा जिशिकामार्फत मुक्त कम्लरीका लागि गतवर्ष ९६ लाख विनियोजन गरिएको थियो। सबै जिल्लाहरुमा गरी सरकार र गैससहरुले करोडौं खर्च गरिरहेका छन् तर स्थिति हिँड्दै छ पाइला मेट्दै छ जस्तो पो भएको रहेछ। पुराना पुनःस्थापित नुहँदै नयाँ बढ्ने क्रम देखिनुले यही जनाउँछ। यहाँनेर सूक्ष्म रुपमा हेर्ने हो भने देखिन्छ कि रोगको मूल कारण नैं पहिचान गरिएन। रोग जरामा छ तर विषाधि पातमा छर्किइयो। अनि कसरी उपचार प्रभावकारी हुन्छ समस्याको चुरो भनेको थारुहरुको विपन्नता हो। गरिबीकै कारण उनीहरु जमिनदारका घरमा दास बन्नको लागि आŠनो मुटुको टुक्रालाई न्यून रकम लिएर पठाउन बाध्य छन्। पूर्वकम्लरी चौधरीको कथन छ- मैले जम्मा चार हजारका लागि वर्षभर हाडमसु घोट्नुपथ्र्यो।

दांगका प्रजिअ ऋषिराम ढकाल भन्छन्- कम्लरी प्रथा हटाउन सबै भन्दा पहिला अभिभावकमा चेतना जगाउनु जरुरी छ। तर बुझ्नै पर्दछ कि गरिबीका अघिल्तिर चेतना मात्रैले केही गर्दैन। चेतनाले मात्रै हुने भए आज स्नातक पासहरु खाडीमा कुल्ली बन्न गइरहेका हुँदैनथे। पूर्वकम्लरी शान्ता चौधरी आज सभासद् छिन्। उनको भनाइ छ- म अहिले पनि बारम्बार दांग गइरहन्छु र कम्लरी बसेकाहरुलाई किन अझै बसिहरनुभएको छ भनेर सोध्छु। जबाफमा उहीहरु भन्छन् – बाँच्नका लागि बस्नुपरेको छ। जमिनदारको सेवा गर्नु हाम्रो रहर होइन।

कम्लरी प्रथा समाजमा व्याप्त धनी र गरिबबीचको असन्तुलनको उपज हो। यो बालश्रमशोषण हो। बालअधिकरमाथिको ठाडो प्रहार पनि हो। पढ्ने उमेरका बालकहरु भविष्य निर्माणको महत्वपूर्ण समयमा पराइको घरमा सुसारे बस्न जान पर्नुलाई दुर्भाग्य नै भन्नुपर्दछ। हरेक भदौ २९ मा अन्य बालबालिकासँगै कम्लरी बालिकाहरु सम्झिइन्छन् कि सम्झिइन्नन् होला यो प्रथा नारीमाथिको उत्पीडनसमेत हो भन्ने पक्षलाई मनन गरिएको छ कि छैन होला हरेक नारी दिवसमा श्रमिक महिलाका बारेमा धेरै लेखिन्छन् बोलिन्छन् तर श्रमशोषणमा परिरहेका कम्लरीका बारे एक शब्द सुनिँदैन। नारी दिवसले वादी र कम्लरीका कुरासमेत समेट्न पर्ने थिएन र ?

पछिल्लो खबर आएको छ कि मुक्त कम्लरीका लागि छुट्याइएकॊ रकम फ्रिज भयो। यसले कम्लरी मुक्ति अभियानमा सरोकारवालाहरु गम्भीर नभएको देखाउँछ। यस्तो टालटुले प्रवृत्ति कायम छ र त मुक्त कम्लरीहरुसमेत पुनः कम्लरी बस्न बाध्य छन्। ठोस योजनाविना नै मुक्त भनिएका हलिया र कमैलालाई जस्तै कम्लरीलाई पनि तावाबाट भुंग्रोमा पार्ने काम सरकारले गरेको छ। यदि सरकार बोक्सी पनि रहिरहोस् धामी पनि भइरहूं सिद्धान्तकारहरुको भर परेको छ भने धेरै थारुहरु कम्लरी प्रथारुपी डाइनाको आँखामा परिरहनेछन्।

धामीहरु ढ्यांग्रो बोकेर चहारिरहनेछन्। यसपाला ५९ जना थपिए भने आधौं सय नाघ्नेछ। यसो हुन नदिनको लागि सरकारले तीन वटा काम एकसाथ गरोस्। पाहिलोः मुक्तमध्ये पढ्ने उमेरकालाई शिक्षा र उमेर घर्केकालाई साक्षर बनाउँदै क्षमताअनुसारको रोजगारी दिनुपर्दछ। दोस्रोः कम्लरी राख्नेलाई असरदार कारबाही गरिनुपर्दछ। र तेस्रो तथा मुख्य भनेको थारु जातिको गरिबीलाई सम्बोधन गर्ने। गरिब थारुहरुको जीवनस्तर उकास्ने खालको विशेष कार्यक्रम ल्याइनुपर्दछ जसबाट तिनले आत्मनिर्भर हुन सकून् र आफ्ना नानीहरुलाई जिविकाकै लागि साहुको घरमा चाकरको रुपमा बिक्री गर्न नपरेको होस्।

Source: Email Circulation

Leave a Reply

Your email address will not be published. Required fields are marked *