संघीयता विरोधीलाई सुझाव |

संघीयता विरोधीलाई सुझाव – विश्वासदीप तिगेला |
biswashdip-tigela
जुन देशका नागरिकहरु कानुनको नजरमा, अधिकार उपभोगको आधारमा समान रहेको महशुस गर्दछन् उनीहरु कानुनी र ब्यवहारिक रुपबाट देश साझा भएको अनुभूति गर्दछन् । जब नागरिकहरुले आफ्नो राष्ट्र सन्तुलित र मजबुत भएको महशुस गर्दछन् तब नागरिक र सिङ्गो देश निरन्तर उन्नतितर्फ लम्किएका शास्वत उदाहरणहरु छन् । सन्तुलित राष्ट्र र समृद्धिले गर्दा आधुनिक विकास र प्रविधि संगै देशदेशको सिमाना तोडिएर विश्व एकै गाँउ बनिसकेको अघोषित अवस्था छ तर बिडम्बना हाम्रो देशमा देश कसरी बनाऔं भन्ने चिन्ता होइन देश बनाऔं भन्ने व्यक्ति वा समूहको चाहिँ कसरी खुट्टा तान्ने भन्ने विमर्श हुनेगर्दछ । यो निश्चय नै शुभ सङ्केत होइन । हिजोआज भूत राजतन्त्र र अत्यन्तै नीच सोचले एकल धार्मिक अतिवाद सल्बलाउने दुस्साहस गरेको देखिन्छ । यो सबैको लागि खेदजनक र लज्जाजनक अवस्था हो । त्यसैले हुनुपर्छ इतिहासका ती विखण्डनकारी विभेदकारी राजाहरुको कुरा गर्न सचेतवर्गलाई इच्छा नलागेको । नेपालको सन्दर्भमा अब मै खाउ, मै लाऊँ, मै गरुँ मोजमस्ति भन्दै आफ्नै मात्र हालीमुहाली चाहने एकात्मक सोच बोक्ने, कुनै पनि व्यक्ति, धार्मिक मोर्चा, राजनीतिक पार्टी, समूह सुरक्षित छैनन र हिजो जस्तो कसैलाई दमन गर्नसक्ने अवस्था पनि छैन । हामी सबै समान हुनुपर्छ भन्ने सोचनै सबैको कल्याणको सही बाटो हो । सबैको भलो चिताएर अगाडि बढ्न सकियो भने स-साना अविश्वास असन्तोष र आक्रोशका कुराहरु पनि स्वतः गौण बनेर जानॆछन् । स्वतः हिङ्सापूर्ण आन्दोलनमा कमी आउँनेछ, बन्द हुनेछन् । यदि आफ्नो र आफ्नो समुदायको लागि मात्र सोच्यौ भने देशलाई अगाडि जान त दिदैनौ नै आखिर आफै पनि अगाडि बढ्न सक्दैनौं । अनि कसलाई फाइदा होला ? संसारमा देश सम्पन्न हुनुजस्तो ठूलो अरु केही नहुदो रहेछ । गरिब देशको अर्बौपतिलाई भन्दा सम्पन्न देशको गरिब व्यक्तिलाई देशविदेशमा सम्मान गरेको हामीले देख्यौं ।

त्यसैलॆ देश विकास हुनको लागि अरुको नजरमा देशको अवस्था विश्वासयोग्य हुनुपर्दो रहेछ । देशमा स्वतन्त्रता, मानव अधिकार, धर्मनिरपेक्षता र संघीयता भएको खण्डमा सबैलाई बराबर अधिकार र सम्मान पुग्नेरहेछ । त्यसबेला कसले पुनः विरोध, अवरोध र आन्दोलन गर्ने तब हाम्रो व्यापार, व्यवसाय फस्टाउने मात्र होइन देश र देशको अवस्थाप्रति विश्वास गरेर विदेशी लगानीहरु स्वतः आउनेछन् l अन्तर्राष्ट्रले विश्वास गर्नेछन् । कमजोर भएको बेला आफ्नै छाँयादेखि तर्सिने अवस्था आउने छैन । संघीयता भनेको निश्चित क्षेत्र, इलाकाको विकास र हेरचारको लागि कामको जिम्मेवारी लिनुरहेछ । त्यसोभए सबैले आ-आफ्नो क्षेत्रको जिम्मा लिएर अहिलेको गाँठो खोले हुन्न ? दशवर्षे जनयुद्धको कारण र संचारको दु्रतत्तर विकासले प्रत्येक नेपाली अहिले सचेत र राजनीतिक रुपबाट दीक्षित छन् । शिक्षाको र अनुभवको कारणले अब कसैले अगाडि आएर केही बोल्दैमा पत्याउने अवस्था छैन । बरु बोल्ने आफैलाई जनताले नीच वा उच्च विचारका के हुन् भनेर मूल्याङ्कन गर्दछन् । अवस्था पूरै बदलिएको छ ।हिजोका तत्कालीन राजाले आफूलाई सित्तैमा पटकपटक मन्त्री बनाइदिए वापत नुनको सोझो गर्न, गुण तिर्न कमल थापाहरु राजाको कुरा गरी टोपलेका छन् । तर थापाहरु पनि राम्रा व्यक्तिहरु नै हुन् । उनीहरु यही देशको भलो चाहन्छन् र भित्रि मनबाट राजा चाहने कदापी होइनन् । किनकि यो शताब्दीमा पनि राजाको कुरा गर्नु मानव सभ्यताको कुरा गर्दै ओढारमा बास बस्नु जानु हो । अहिले एकाध व्यक्तिहरु हिन्दू राजतन्त्रको वकालत गर्ने हिम्मत गरिरहेका छन् र तिनीहरु आफैलाई भित्रि मनबाट असजिलो महशुस हुँदै आएको छ । आफ्नो विचार राख्न पाउने स्वतन्त्रता जो कसैलाई छ । यो माटो, यो धर्ति र यो आकाश सबैको हो । यहाँ सज्जन हुने र बहुलाउन पाउने अधिकार पनि जो कसैलाई छ । साथै विरोध र समर्थन गर्न पाउने अधिकार पनि जो कसैलाई छ । तर रमाइलो पक्ष के छ भने नेपालका अधिकांश नेताहरु साधारण नागरिक जतिपनि राजनीतिक रुपबाट दीक्षित छैनन् । उनीहरु विरोध मात्र गर्छन् स्थायी समाधान के हो सोच्दैनन् ।

अहिले देखिएको नेपालको समस्या बोल्दा र भन्दा जनसेना, संघीयता, सरकारको नेतृत्व कसले गर्ने आदि भनिए पनि यसको चुरो कुरा भारतीय हिन्दूवादीहरुले नेपाल माथि खेल्न खोज्नु हो । अर्को कुरा सबैलाई जानकारी भएको के पनि हो भने अस्वस्थ र असन्तुलित जातीयताको राजनीतिले मुलुकमा कलह निम्त्याउँन सक्छ । त्यसैले कलहको डरले आँखा चिम्लनु भन्दा स्वस्थ बहस, ब्यापक छलफल र सहमतिले सधैँको लागि स्थायी निष्कर्ष निकाल्नु बुद्धिमता ठहर्छ । हामी सबैको कोसिस यही हुनुपर्दछ । यदि नेपालमा धेरै धर्म, संस्कार, संस्कृति बोकेका जातिहरु नभएका भए वा उनीहरु आजसम्म शोषित नहुँदो हो र नेपालको स्थायी सरकार र राजनीतिक सरकारमा एकछत्र एकसमुदायको हालीमुहाली नभएको भए, केन्द्रीकृत शासनको शोषण नभएको भए र क्षेत्रहरुलाई उपेक्षा नगरिएको भए सम्भवत संघीयताको विषय गौण बन्न सक्दथ्यो तर त्यो भएन । त्यसैले अहिलेको प्रमुख आवश्यकता एकात्मकबादी जंजीर तोड्नु हो । यो एकात्मकवादी जंजीरलाई तोड्न र विकास विकेन्द्रिकृत गर्नको लागि संघीयता मात्र एउटा अचुक र सबैलाई सम्मान हुने उपाय हो । सिकाउने र सिक्नेमा सधै सिकाउने, देखाउने अग्रस्थानमा प्रायः रहेको हुन्छ । नेपालका शासक वर्ग स्वयंमलाई समृद्ध नेपाल बनाउने ईच्छा नहुने कुरै भएन र उनीहरुलाई राम्ररी थाह छ कि – देश धर्मनिरपेक्ष, संघीय नभई त्यो सम्भव छैन । त्यसैले पनि यी दुई विषयमा आम सहमति जुटेको हो । अहिले संघीयताको विरोध गर्नु भनेको आफ्नो वा पार्टीको छुट्टै पहिचानको लागि मात्र गरेको बेमौसमी खेती मात्र हो ।

संघीयताको विरोधीहरु समृद्ध नेपाल र ठूलो पार्टीको चाहना राख्ने नभई सानो र आफ्नै स्वार्थको लागि काम गर्दै गरेको अवस्था हो । मिडियामा आफ्नो नाम ल्याउन अमेरिकामा एकव्यक्ति बस्त्रविहीन भई नाङ्गै शहर घुमेजस्तै अहिले संघीयता विरोधी चित्रबहादुर के.सी. र उनका आसेपासेहरु नाङ्गै घुमिरहेका हुन् । चित्रबहादुरहरुलाई के थाहा हुनुपर्छ भने एकात्मक शासनमा चित्रबहादुरको भाइभतिजा मात्र देशका महत्वपूर्ण ठाँउहरुमा रहँदा भन्दा समृद्ध नेपालमा केही चित्रबहादुरका भाइभतिजा र केही अन्यहरुको भाइभतिजा मिलेर महत्वपूर्ण ठाउँमा काम गर्दा धेरैगुणा असल र सफल हुनेछ भन्ने जानकारी हुनुपर्दछ ।

कुनै निमुखा व्यक्तिलाई बिना कसुर बेस्सरी पिट्यो त्यसपछि झगडा गर्नुहुँदैन भनेर त्यही पिट्ने व्यक्तिले पिटाई खानेलाई सम्झाएको अवस्था छ । यस्तो स्थितिमा पिट्नेलाई कार्वाही गर्दै पिटाई खानेलाई क्षतिपूर्ति दिलाएर झगडा गर्नु हुँदैन भन्नुपर्नेमा पहिला पिट्यो त्यसपछि एकतर्फि पिट्नेले नै निमुखालाई झगडा गर्नु हुदैन तँ बदमास हो भन्नु कति सान्दर्भिक हो ? अझ पिटाई खानेले बद्ला होइन जे भयो भइहाल्यो अब मिलेर बराबर अगाडि जाउ भनेको अवस्था जस्तै हो अहिलेको नेपालका अहिन्दू मूलबासी मंगोल समुदायको सशक्त आवाज र दवाब । त्यस्तै भत्किएकको मोटर बाटो मर्मत नै नगरी त्यही बाटोमा गाडी गुडाऔं भन्ने चित्रबहादुरहरुको आग्रह हो । उनीहरुलाई थाहा हुनुपर्छ, भत्किएको बाटोमा प्रथमतः गाडी गुड्नै सक्दैन र गुडिहाले पनि एकदिन अवश्य दुर्घट्ना हुन्छ भन्ने । त्यसैले अहिलेको आवश्यकता भनेको भत्किएको बाटो बलियो बनाऔं र कहिल्यै दुर्घट्ना नहोस् भन्ने हो । केही अहिन्दू मूलबासी मंगोल समुदायका उल्लुहरु अज्ञानताको कारणले वा स्वार्थको लागि क्षतिपूर्तिको त के कुरा बेस्सरी पिटिएका कुरा समेत बिर्सिएका छन् जसलाई चित्रबहादुरहरुले हतियार बनाई प्रयोग गर्न शुरुगरेका छन् । फगत स्वार्थका लागि ती हतियार बन्नेहरु आफ्नै समाजमा सर्वाधिक बहिष्कृत बन्दै गएका छन् ।

चित्रबहादुरहरुलाई अर्को के कुरा पनि जानकारी हुनुपर्दछ भने, कुनै समुदाय, धर्मले कसैलाई शोषण नगरेको अवस्थामा अर्थात् सबै समुदाय, धर्म, संस्कार, संस्कृति समान रहेको अवस्थामा समुदाय र धर्मको कुरा गर्नु मुर्खता हुन्छ किनकि त्यसबेला सहिष्णुता र सहअस्तित्वको कुरा हुन्छ । तर नेपालको अवस्था भनेको त्यो छैन l यहाँ त एक समुदायले अर्को समुदायलाई चरम शोषण गरेको अवस्था छ । एक धर्मले अर्को धर्मलाई शोषण र अपमान गरेको अवस्था छ l सिङ्गो राज्य एक समुदाय र धर्म विशेषले चलाएको अवस्था छ । यहाँ त चरम शोषित वर्ग र समुदायलाई क्षतिपूर्ति दिनुपर्ने अवस्था छ । चित्रबहादुर र उनका समुदायले लौ अब सबैलाई समान हुने सहअस्तित्वको वातावरण बनाऔं । युगौंयुगका लागि सन्तुलित र सहिष्णु समाज निर्माण गरौं भन्नुपर्नेमा उही एकात्मक कुरागर्नु असह्य कुरा हो । चित्रबहादुरको आह्वानले के बुझिन्छ भने यस देशका अहिन्दू मूलबासी मंगोल समुदाय सधैँभरि उनैको भरिया हुनुपर्ने । देशको शासन सत्ता सधैँ उसैको मात्र पेवा हुनुपर्ने बुझिन्छ । यो कदापी स्वीकारयोग्य र पाच्य हुन सक्दैन ।

चित्रबहादुरहरुलाई स्पष्ट एउटा प्रस्ताव छ – आउँदो ५ वर्ष भित्र नेपाललाई सबैको साझा बनाऔ, कुनै समुदाय, धर्म, सम्प्रदाय कोही पनि शोषणमा नपरेको अवस्था बनाऔ । राज्यको प्रत्येक तहको सेवा र अवसरमा समान सहभागिता रहेको अवस्था सिर्जना गरौं । हो त्यसबेला त्यो अवस्थामा हामी अहिन्दू मूलबासी मंगोल समुदायहरु चित्रबहादुरले भनेको शर्त मान्न तयार छौं । तर यदि होइन र षडयन्त्रपूर्वक यसरी नै अघि बढ्छन् भने चित्रबहादुरहरु रहन्छन्- रहदैनन् थाहा हुन्न । किनकि आत्मस्वभिमान फगत बाँच्नुभन्दा कैयौ गुणा ठूलो कुरा हो । आज किन मान्छेहरु आत्माघाति बनेका छन् l यही हो यसको सही उदाहरण ।

यहाँ कसैद्वारा पनि कसैको अधिकार र अवसर खोस्ने कुरा भएको छैन । सिर्फ अधिकार र अवसर प्राप्त नगरेकाले माग गरेका हुन् । अधिकार र अवसर प्राप्त नगरेकाले माग गर्दा यसको सही मूल्याङ्कन गरी समर्थन र समाधानतर्फ लाग्नुपर्नेमा जबरजस्त पेलेर अगाडि बढ्ने दुस्प्रयास हुँदैछ यो सर्वथा गलत बाटो हो । प्रथमतः जबरजस्त अगाडि बढ्ने अवस्था छैन । यदि बढि हालेमा पनि जेनतेन केहीक्षणको लागि मात्र हुनेछ । त्यसपछि दोहोरो क्षतिपूर्ति दिँदा वा पीडित स्वयम्ले लिँदा कस्तो होला अड्काउने र भत्काउने काम हामी जो कसैले पनि गर्न सक्छौ तर अहिलेको अवस्थामा त्यो खेलको आवश्यकता छैन । यस्तो अड्काई र भत्काइले संसारको सामु देश पछाडि पर्नेछ र चित्रबहादुरहरु पनि पछाडि नै रहनेछन् । त्योभन्दा उत्तम कार्य भनेको सबैको सह-अस्तित्वलाई स्वीकार गर्दै संघीयता र धर्मनिरपेक्षताको बाटोमा अघि बढ्नु हो । जब देश समृद्ध र धनी हुन्छ तब देशको पहिचान र अस्तित्व अन्तर्राष्ट्र सम्म पुग्दछ । त्यसैले अहिले समयमै संघीयतालाई आत्मसात गर्नसके त्यसबेला चित्रबहादुर पनि देशको मात्र होइन अन्तर्राष्ट्रको समेत नेता हुनेछन् नत्र चित्रबहादुरहरु देश विकास र प्रगतिको लागि बाधक, ऐजेरु रोग मात्र हुनेछन् ।

चित्रबहादुरहरुलाई दोस्रो प्रस्ताव छ – विगतमा प्रशासनिक काममा प्रभावकारिता आओस् भन्ने उद्देश्यले अंचल र विकास क्षेत्रको अवधारणा आएको हो र हामीले देख्यौ त्यसको काम र परिणाम दुबै । अंचल र विकास क्षेत्रको असफलता मात्र होइन, भूमिका नै शून्य रह्यो । त्यसको प्रमुख कारण हो – एउटाको सम्पत्तिमा अर्कै व्यक्तिलाई मालिक बनाएर पठाउनु । अर्काको सम्पत्तिमा मालिक बनेकालाई त्यो सम्पत्ति प्रति के को माया र दायित्वबोध होस् त त्यसैले विभिन्न आधारहरु मध्ये अहिन्दू मूलबासी मंगोल समुदायको आधारमा संघीयता बनाउने प्रस्ताव आएको हो । कुखुराको बथानलाई कुखुराले नै माया गर्छ चीलले कुखुराको बथानको माया गर्नसक्दैन । त्यसैले तपाइँ चित्रबहादुरहरुले संघीयताको विरोध गरेर जनतालाई भ्रम् सिर्जना गर्नखोज्नु राजनीतिक हिसाब आफ्नो ठाँउमा होला तर भगवानको नजरमा पनि तपाइँहरु गलत हुनुहुन्छ । भन्नुहोस् न देश सबैको साझा हुँदा र समृद्ध हुँदा कसलाई चाहिँ घाटा हुन्छ ? त्यो घाटा छिमेकी भारत र यहीका भ्रष्टचारी वर्गलाई हुन्छ भन्नुहोला तर उनीहरुलाई पनि नेपाल समृद्ध हुँदा फाइदै हुन्छ भने तपाइँ चित्रबहादुरहरुलाई चाहिँ किन यत्रो टाउको दुखाई ?

छिमेकी मुलुक भारतमा तमिल समुदायको बाहूल्य भूमिलाई तमिलनाडु, नागा समुदायको बाहूल्य भूमिलाई नागाल्याण्ड, पंजावीहरुको राज्य पंजाब, बंगलाहरुको बाहूल्य भूमिलाई पश्चिम बंगाल र अर्को छिमेकी मुलुक चिनमा हेनान समुदायको बाहूल्य भूमि हेनान राज्य र युनान समुदायको बाहूल्य भूमिलाई युनान राज्य लगायत राज्यहरुको नाम रहेका छन् त्यस्तैगरि बेलायतमा स्कटिस समुदायको बाहूल्यता रहेको राज्यको नाम स्कटल्याण्ड, आइरिस समुदायको बाहूल्य क्षेत्र नोर्दन आयरल्याड रहेको छ । यसरी राज्यहरुको नामाकरण समुदायको आधारमा गर्ने चलन विश्वमै अतिलोकप्रिय रहेको छ । केन्याको एउटा सानो जिल्लामा साम्बुरु समुदायको बाहूल्यता छ र त्यस जिल्लाको नाम साम्बुरु जिल्ला भनिन्छ । इंगलिस भाषा बोल्नेको बाहूल्य रहेको बेलायतको एउटा इलाकालाई इंगल्याण्ड राज्य नामाकरण गरिएको छ त्यसैले समुदायको नामबाट र भाषागत आधारमा राज्यको नाम राख्ने अन्र्तराष्ट्रिय प्रचलन नै हो भने सबै राज्यलाई समान अधिकार हुनेगरि खसान, लिम्बुवान, खम्बुवान, तामाङसालिङ, तमुवान, मगरात, मैथिली र थारुवान आदी प्रस्तावित राज्यको नाममा स्वीकृति जनाउन किन कन्जुसियाई गर्ने । आखिर यावत प्रयास विकास र प्रगतिको लागि नै हुन ।

एउटा गजबको संयोग भनौ सन् १७७६ मा अमेरिका सङ्घिय (Federal System) प्रणालीमा गयो र अहिले विश्व कै सर्बशक्तिमान राज्य बनेको छ भने ठिक त्यसै दशक सन् १७६८ मा नेपालका त्यसबेलाका लगभग संङ्घिय मोडलका राज्यहरुलाई खत्तम गरेर एकात्मक राज्य (Unitary System) प्रणालीमा प्रवेश गर्यो र अन्तत अहिले विश्व कै असफल राज्य बनेको छ । त्यसैले अहिले पनि हाम्रोसामु दुईवटा स्पष्ट बाटो छ -पहिलो हो देश समुन्नत बनाउन संघीयता र धर्म निरपेक्षतालाई संस्थागत गर्दै नेपालको विविधतालाई सन्तुलनमा राखेर विना अड्चन विकास र प्रगतिमा जानु । दोस्रो हो- छिमेकी धर्मभिरुहरुको आशीर्वादले एकल हैकमवादलाई निरन्तरता दिनु जसले अझ केहीवर्ष हत्या हिङ्सालाई जारि राख्दै मुट्ठिभरका व्यक्तिलाई हालीमुहाली बहाली राखिदिनु । यो कर्म, देश र जनताको लागि अत्यन्तै घातक छ । अफ्रिकी मुलुक सुडान संघियतामा नजांदा चलेको गृहयुद्धमा लाखौ जनताको ज्यान मात्र गएन त्यहा सम्पन्न हालैको निर्वाचनवाट विभाजित हुने निश्चित भएको छ । त्यसैले देशलाई सन्तुलित, समृद्ध तथा अखण्ड राख्न पनि अव संघियतालाई संस्थागत गर्नु एकमात्र अचुक उपाय हो ।

त्यसैले आउँदो एक दशक संघीयतामा गई आ-आफ्नो ठाउँका मुख्य समुदायलाई सोही ठाउँको गोठाले बनाई हेरौं । एकात्मक शासन त हामीले झण्डै शताब्दी नै अभ्यास गरेका छौं । त्यसैले अब यो साइतमा संघीयताको अभ्यास गरौं । राजनीतिक पार्टी, समुदाय, धर्म, सम्प्रदाय भन्दा माथि उठेर समग्र नेपालको विकास र प्रगतिको लागि काम गरौ । यसरी सम्पन्न नेपालको परिकल्पना गर्दै अघि बढौं, एकदिन अवश्य लक्ष्यमा पुगिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *